
थरुहट-थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको बन्दका कारण कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित भएको छ ।
कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङसहितका तराईका जिल्लाहरुमा बन्दको प्रभाव परेको हो ।
बन्दका कारण यी जिल्लाहरुमा बजार, कलकारखाना, उद्योग धन्दा, शिक्षण संस्थाका साथै सवारी तथा यातायातका साधनहरु पूर्ण रुपमा बन्द रहेका छन् । बन्दको प्रभाव सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा समेत देखिएको छ ।
बन्दले धनगढीबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन् । मोटरसाइकल र अटोरिक्साहरु भने निर्वाधरुपमा चलिरहेका छन् । यातायातका साधन नचल्दा भारतलगायत विभिन्न ठाउँबाट आएका यात्रु धनगढी बसपार्कमा अलपत्र परेका छन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठका अनुसार अत्तरिया भएर पहाडि क्षेत्रतिर जाने कुनै पनि साधन जान सकेको छैन् । बन्दले बजार आशिंक रुपमा सञ्चालमा आएपनि, शिक्षण संस्था, कलकारखाना बन्द छन् ।

सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन फागुन २० र २१ गते आमहड्तालको घोषणा गरेको हो ।
गत पुस २२ गते सरकारसँग १४ बुदे माग राखी आफनो माग सम्वोधन गर्न पुस मसान्तसम्मको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाए पनि सरकारले आफुहरुको माग प्रति कुनै सुनुवाई नगरेको भन्दै आम हड्तालको घोषणा गरिएको विज्ञप्तीमा भनिएको छ ।
रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेद्न र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलित छ ।
आन्दोलनमा आदिवासी जनजाति महासङ्घ, मिसन अम्बेडकर नेपाल, खसान सङ्घर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, सङ्घीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत सङ्घ संस्थाले ऐक्यबद्धता जनाएका छन्।