
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्ज चिनी मिलको जग्गा बिक्री गर्ने संघीय सरकारको निर्णयविरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।
मंगलबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले चिनी मिल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुको साटो बिक्री गर्ने निर्णय गरेर प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको जिकिर गरे ।
संघीय सरकारले पटक पटक प्रदेशको क्षेत्राधिकारमा हस्तक्षेप गर्दै संघीयताको मर्मलाई समाप्त पार्न खोजेको मुख्यमन्त्री राउतले आरोप लगाए ।
संघीय सरकारले केही दिनअघि वीरगञ्ज चिनी मिलको ६ विघा जग्गा बिक्री गर्ने निर्णय गरेको थियो । चिनी मिल हाल बन्द अवस्थामा छ ।
प्रदेश २ सरकारले यसअघि सागरनाथ वन परियोजनासम्बन्धी संघीय सरकारको निर्णयविरुद्ध पनि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।