
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले युथ फोर्सका सदस्यहरूका लागि तालिमको सुरुवात गर्नुभएको छ । भक्तपुरको सूर्यविनायक स्थित प्रस्तावित राष्ट्रिय प्राणी उद्यान केन्द्रमा आज आयोजित एक कार्यक्रमकाबीच बस्नेतले केही दिनअघि ब्यूँताइएको युथ फोर्सका सदस्यहरुका लागि तालिमको सुरुवात गर्नुभएको हो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बस्नेतले आफूहरूले कानुनलाई हातमा नलिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी कानुनलाई हातमा लिँदैनौँ, साथमा लिन्छौँ । हिजो प्रचण्डले जस्तो हामी हत्या हिंसा गर्दैनौँ, मान्छेलाई दुःख दिँदैनौँ, निर्दोष व्यक्तिलाई दुःख दिँदैनौँ ।’
उहाँले थप्नुभयो “अब रवि लामिछनेलाई खोज्ने दिन सकिए, अब अनेक अभियान्तालाई खोज्ने दिन सकिए, अभियान्ताका नाममा लुटेर खाने दिन सकिए, राष्ट्रीय युवा संघको युथ फोर्सले कसैलाई लुट्न दिदैन, आफु पनि आर्थीक गतिबिधीमा संलग्न हुँदैन ।”
सम्बोधनका क्रममा नेता बस्नेतले युथ फोर्सको विचार, कार्यकर्ता र शुभचिन्तकमाथि कसैले प्रहार गरेमा प्रतिरोधमा उत्रिन पनि निर्देशन दिनुभयो । उहाँले युथ फोर्समाथि अनेक आरोप लाग्न सक्ने बताउनुहुँदै सजग भएर अघि बढ्न पनि आग्रह गर्नुभयो ।
सर्वोच्च अदालतको असार २८ को परमादेश अनुसार सरकारबाट बाहिरिएसँगै एमालेले युथ फोर्स ब्यूँताएको हो । युथ फोर्सले राज्यका ज्याद्धती र जनताबिरुद्ध हुने कुनै पनि कामको प्रतिरोध गर्ने बताएको छ ।


