
जनता समाजवादी पार्टी कार्यकारिणी समितीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा साउन २ देखि ५ गतेसम्म बसेको बैठकले पार्टीको माग, मुद्दा सम्बोधनार्थ प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
बैठकपछि विज्ञप्ति निकालेर अध्यक्ष ठाकुरले आफ्ना माग पूरा गराउन वर्तमान प्रधानमन्त्रीसँग माग गर्ने र अघिल्लो सरकारले गरेका सकारात्मक कामका लागि धन्यवाद दिने निर्णय भएको बताउनुभएको छ ।
जसपा नेपालले विगतदेखि उठाउँदै आएको मधेश–थरुहट आन्दोलनसँग सम्बन्धित माग, मुद्दाका साथै राजनीतिक अडानहरु, संविधान संशोधन, नेता, कार्यकर्ताहरु माथि लगाइएको झुठा मुद्दाहरु फिर्ता, रेशम चौधरी रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता सम्बन्धी समस्याको समाधान, लगायतका समस्याहरु समाधान गर्ने प्रतिबद्धता प्रधानमन्त्रीबाट व्यक्त भएकाले आफूहरुको पार्टीले प्रधनमन्त्री देउवालाई विश्वासको मत पद्य्रान गरेको पनि विज्ञप्तीमा उल्लेख छ ।
यसलगायत विश्व्व्यापीरुपमा फैलिएको कोभिड–१९ महामारी, मनसुनसँगै आइरहेको प्राकृतिक विपत्ति र यस विपत्तिमा मुलुकको अर्थतन्त्र चलायमान राख्ने लगायतका विभिन्न आठ बुँदे प्रेस विज्ञप्ती जसपाले मंगलबार सार्वजनिक गरेको छ ।
बैठकले कोभिड १९ को खोप सबै नागरिकलाई तत्काल उपलब्ध गराउन तथा विपन्न नागरिकका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्नसमेत सरकारसँग माग गरेको छ ।
त्यस्तै वर्षाका कारण मुलुकको विभिन्न स्थानमा बाढी, पहिरो र डुबानजस्ता समस्यामा परेका जनतालाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति सुनिश्चित गर्न समेत जसपाले माग गरेको छ ।

