
नेकपा (माओवादी केन्द्र)ले सत्ता गठबन्धनमा सामेल दलका भावनाअनुसार न्यूनतम साझा कार्यक्रम बनाएर सरकारलाई प्रभावकारी बनाउन निर्णय गरेको छ ।
पार्टी मुख्यालय पेरिस डाँडामा आज बसेको स्थायी समिति बैठकले गठबन्धनको साझा कार्यक्रम ल्याउने र सरकारमार्फत त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
आजको बैठकमा सरकारमा सहभागी हुने बारेमा कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । सरकारमा सहभागी हुने विषयमा गठबन्धनमा सामेल अन्य दलसँग छलफल भइरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
प्रवक्ता श्रेष्ठले सरकारलाई समर्थन गर्ने सबै पार्टीबाट प्रतिनिधित्व गर्ने गरी सरकारलाई पूर्णता दिनु उपयुक्त हुने भएकाले हामी सबै गठबन्धनका शक्तिसँग छलफल गरेर छिट्टै सरकारलाई पूर्णता दिने निर्णय गर्ने पनि बताउनुभयो ।
माओवादीले पार्टीलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न यही साउन २० गते बस्ने केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्न यही साउन १७ गते स्थायी समिति बैठक पुनः बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।