
पल शाह र मलिका महत फिचर्ड ‘तिम्रो मनमा ए कान्छा’को फिमेल भर्सन गीत शनिबार सार्वजनिक गरिएको छ ।
केन्द्र मोसन पिक्चर्सले गुरुपूर्णिमाको अवसरमा आधिकारिक युट्युव च्यानलबाट गीत प्रिमियर गरेको हो । आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता शाहले यो गीत आफ्ना सबै गुरुहरुप्रति समर्पित भएको बताए ।
पछिल्लो समय निकै रुचाइएको पल र मलिकाको जोडी यो डान्सिङ नम्बरमा पनि आकर्षक देखिएको छ । निकिता थापाको स्वर र निमा राईको संगीत रहेको गीतलाई सान थापाले निर्देशन गरेका हुन् ।
पल र मलिकाले यसअघि केन्द्र मोसन पिक्चर्सकै दुई हिट म्युजिक भिडिओ तिमी टाढा भएपनि र फुलबुट्टे सारीमा अभिनय गरेका छन् । यी दुईजनाले उक्त कम्पनीसँग ६ महीनाका लागि अनुबन्धित भएको कुरा पनि प्रकाशमा आएको थियो ।