
सोलुखुम्बुमा पहिलो डोज कोभिशिल्ड खोप लगाएका नौ हजारले दोस्रो डोज खोप पाउन सकेका छैनन् ।
जिल्लामा गत माघ यता कोभिशिल्ड खोप लगाएकाले दोस्रो डोज अझै पाउन नसकेका हुन् ।
२०७७ माघयता कोभिशिल्ड खोप लगाएका उनीहरूले दोस्रो डोज अझै पाउन नसकेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिनुभयो ।
शाहका अनुसार जिल्लामा अहिलेसम्म दुई हजार चार सयले कोभिशिल्डको पूर्ण डोज र एक हजार चार सयले भेरोसेलको पूर्ण गरी तीन हजार आठ सय नागरिकले मात्रै खोपको पूर्ण डोज पाएका हुन् ।
जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा खोप लगाएका करिब चार हजारभन्दा बढीलाई पनि दोस्रो डोज खोप मगाउने तयारी भएको छ ।
अब चाँडै जोनसन एण्ड जोनसन खोप र भेरोसेल गरी करिब आठ हजार डोज खोप पहिलो मात्राका लागि ल्याइने तयारी भएको छ ।
५४ वर्ष माथिकालाई जोनसन एण्ड जोनसेन र ५० देखि ५४ वर्ष उमेरका लागि भेरोसेल लगाउने तयारी भएको छ । यस अघि छुटेका फ्रन्टलाइनर, यातायात व्यवसायी, चालक, शिक्षक लगायतलाई खोप लगाइने छ ।