
नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले आफू अग्रजहरूको सम्मान गर्ने पार्टीको अनुयायी भएको भन्दै धम्काउने र थर्काउने आफ्नो शैली नभएको स्पष्ट पारेका छन् ।
लेखक खगेन्द्र संग्रौलाले बस्नेतको नामै लिएर आफूलाई साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिएको ट्वीट गरेपछि उनी सर्मथकले बस्नेतका आलोचना गरिरहेका छन्।
‘म भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको मान्छे हुँ,’ संग्रौलालाई जवाफ दिँदै बस्नेतले लेखेका छन्, ‘राजनीतिक रूपमा पनि ज्येष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरू मनमोहन अधिकारी र केपी ओलीको अनुयायी हुँ । सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो । धम्काउने थर्काउने मेरो शैली होइन ।’
युथ फोर्सको भ्याली कमाण्ड घोषणा गर्ने ९ साउनको कार्यक्रममा बस्नेतले एमालेविरुद्ध लाग्ने बुद्धिजिवीलाई साइबर सेनाको सहयोग लिएर तह लगाउने चेतावनी दिएका थिए । त्यहाँ उनले कसैको पनि नाम किटेका थिएनन् ।
तर, संग्रौलाले आफूलाई प्रत्यक्ष धम्की आएको दावीसहित लेखेका छन्,‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ । अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए। तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला । धन्य ओली सर।’
उक्त कार्यक्रममा आफूले त्यस्तै केही नबोलेको बस्नेतको प्रष्टीकरण छ । उनले भनेका छन्, ‘जहाँ सम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषणा सभामा मैले बोलेको विषय छ। न खगेन्द्र बाजेलाई धम्की दिएको छ। न माधव नेपाल कमरेडलाई थर्काएको छ । न तेसो गर्न आवश्यक नै छ ।’
हेर्नुहोस् महेश बस्नेतले सामाजिक सञ्जाल लेखेको स्ट्याटस्
खगेन्द्र संग्राैला बाजेले आज फेरि अर्को गफ दिएछन। गाली शिरोमणिको उपमा पाएका बाजे अरुलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन् ।
म भक्तपुरको असल संस्कार युक्त परिवारमा हुर्केको मान्छे हुँ। राजनीतिक रुपमा पनि जेष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरु मनमोहन अधिकारी र के पी ओलीको अनुयायी हुँ। सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो । धम्काउने थर्काउने मेरो शैली होइन ।
जहाँ सम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषण सभामा मैले बोलेको बिषय छ। न खगेन्द्र बाजेलाई धम्की दिएको छ। न माधव नेपाल कमरेडलाई थर्काएको छ। न तेसो गर्न अावस्यक नै छ।
युथ फोर्सले जाई कटक नगर्नु झिकि कटक गर्नु भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ । सहज ढंगले अाफ्नो लक्षमा हिडनेछ। वाधा अडचन आइपरे मात्र हटाउनेछ। एमालेको पक्ति र जनतन संग सत्रुता साँध्ने शक्ति वाहेक कोही त्रसित हुन अनवस्यक छैन। युथ फोर्सको गठनले असाहाय, पिडित, गरिव, देशभक्त, प्रगतिशील र जनवादी शक्ति उत्साहित भएको छ।
बाँकी कनफ्युजन हटाउन मैले बोलेको सुन्नुहोला।
