
जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकता विवाद समाधान भएसँगै कारागारमा रहेका नेता रेशम चौधरीले आफू आधिकारिक पार्टीमै रहेको प्रतिक्रिया दिएका छन् ।
जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सामाजिक सञ्जालमार्फत चौधरी आफूहरुको पक्षमा रहेको खुलासा गरेका हुन् । दुई दिनअघि निर्वाचन आयोगमा सनाखत प्रक्रियामा तटस्थ बसेका चौधरीले टेलिफोनमार्फत आफू आधिकारिक पक्षमा रहेको बताएका हुन् ।
नेता खतिवडाले भनेका छन्,“माननीय रेशम चौधरीले फोन वार्तामार्फत् व्यक्त गर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताविक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु ।”
जसपामा कार्यविभाजनको प्रक्रिया चलिरहँदा चौधरीबारे खतिवडाले पार्टीको धारण सार्वजनिक गरेका हुन् ।
चौधरी भने कैलालीको टीकापुर घटनामा दोषी ठहर भइ डिल्लिबजार कारागारमा सजाय भुक्तान गरिरहेका छन् ।