
सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै पूर्वमाओवादीका चार नेताले सर्वाेच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुँदै छ ।
टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी परमादेशबाट सांसद पदमा पुनर्वहालीको माग गर्दै बुधबार दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो । आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको उनीहरुको दाबी छ ।
आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग रिट निवेदनको छ ।
नेकपा एमालेमा प्रवेश गरेपछि चैत २६ मा माओवादी केन्द्रको सिफारिसमा उनीहरुलाई संसद सचिवालयले सांसद पदबाट मुक्त गर्ने निर्णय गरेको थियो । त्यस्तैगरी माओवादी केन्द्रद्वारा निलम्बित लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीको रिटमा पनि आजै सुनुवाइ हुँदैछ ।
उनीहरूले आफूहरूलाई विधानविपरीत हटाइएकाले पुनर्बहालीको माग गरेका छन् । रुपन्देहीबाट निर्वाचित न्यौपाने र गुल्मीबाट निर्वाचित पन्थी सांसदबाट बर्खास्त भएपछि एमालेमा सक्रिय छन् ।