
आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
माधव नेपाल पक्षीय नेताहरूको आग्रहमा एमाले स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित भएको छ ।
विघटित एकता कार्यदल बैठकको आग्रहपछि आइतबार बस्नेगरी स्थायी कमिटी बैठक स्थगित भएको हो । कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
स्थायी कमिटी बैठक आज ३ बजेका लागि अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनिर्णयको बन्दी भएर नबस्ने भन्दै शनिबार अपरान्ह बैठक बोलाएका थिए ।
यसअघि माधव नेपाल पक्षधर वार्ताटोलीका नेताहरूसँग ओली निकट नेताहरुको छलफल भएको थियो । अझै पनि एकताको प्रयास जारी राख्ने भन्दै नेपाल निकट नेताहरूले आजको बैठक रोकेर माधव नेपालसँग छलफल गर्न आग्रह गरेका थिए ।
त्यसअघि विघटित कार्यदलको बैठक नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो । बैठकमा नेताहरूले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् ।
भीम रावल लगायतका नेताहरूले अझै पनि प्रक्रिया पूरा गरौं भनेर गरेको आग्रहलाई अध्यक्षले सकारात्मक रूपमा लिएर बैठक आइतबार ३ बजेसम्मलाई स्थगित गरेको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिए ।
उनका अनुसार बैठक बसे पनि एजेण्डामा प्रवेश नगरी स्थगित भएको हो । आइतबार दिउँसोसम्म टुङ्गो नलागेमा अब एमाले माधव नेपाललाई नपर्खी अघि बढ्ने नेताहरूले बताएका छन् ।