
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल राजनीतिक र कानूनीरूपमा अप्ठेरो अवस्थामा रहेको भन्दै सत्ता गठबन्धनले सघाउनुपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी कमिटी बैठकमा माधवकुमार नेपाल समूह सरकारमा नआउने विश्लेषण सुनाएका छन् । अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही दिन लाग्ने उनले बताए ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टी एकतामा जाने देखिएको भन्दै उनले भनेका छन्, ‘अब यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीहरुसँग छलफल गर्नुपर्ने भयो ।’
माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाल अप्ठेरो अवस्थामा रहेको बताएका हुन् । बैठकअघि प्रचण्ड माधव नेपाललाई भेटेर गएका थिए ।
माधव नेपालसँग दैनिकजसो भेटिरहेका प्रचण्डले नेपालको अप्ठेरो सुनाउँदै दोस्रो तहका भनिएका केही नेताले धोखा दिएको बताएका थिए । उनले तल्लो पंक्ति माधवको साथमा रहे पनि माथिल्लो तहका केही नेताले केपी ओलीसँग सरेन्डर गर्न खोजेको ब्रिफिङ बैठकमा गरेका छन् ।
माधव नेपाल समूह सरकारमा आउँदा कसरी मन्त्रालय भागवण्डा गर्ने भनेर गृहकार्य गरेको, तर अहिले परिस्थिति फेरिएकाले थप गृहकार्य गर्नुपर्ने भएको उनले बताएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
प्रचण्डको भनाइ उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘माधवजी अहिले बडो अप्ठेरो अवस्थामा हुनुहुन्छ । तत्कालै सरकारमा सहभागी हुने अवस्था पनि देखिएन । पार्टीमा पनि उहाँले चाहे जस्तो (बराबर हैसियतको अध्यक्ष) हुने अवस्था बनेको छैन । सायद आज उहाँको पक्षको बैठकले केही निर्णय गर्ला ।’
यसबारे साँझ छलफल हुने भन्दै प्रचण्डले भोलि ३ बजे स्थायी कमिटीको अर्को बैठक राखेका छन् ।
माधव नेपाल पक्ष सरकारमा सहभागी होस् भन्ने प्रचण्डको चाहना छ । उनले बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवा भने माधव पक्ष सरकारमा नआए पनि अब मन्त्रिपरिषद् विस्तार गर्ने र माधव नेपालसँग गठबन्धनको राजनीतिक सम्बन्ध कायम राख्ने पक्षमा रहेको बताएका छन् ।
आफ्ना नियमित भेटघाटमा प्रचण्डले माधव नेपाललाई केपी ओलीले जहिले पनि धोखा दिने भन्दै आफ्नो हात माथि नपारी एमाले एकता नगर्न सुझाव दिइरहेका छन् ।