
गृहमन्त्री बालकृष्ण खाँडले कोरोना नियन्त्रण चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै तेस्रो लहरको तयारीमा जुट्न सुरक्षा अङ्गसहित मातहतका निकायलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा आइतबार बसेको बैठकमा गृह मन्त्री खाँडले कोरोना नियन्त्रणका लागि सबैको सहकार्य र समन्वय आवश्यक रहेको भन्दै तेस्रो लहरको तयारीमा जुट्न सुरक्षा निकायसहित मातहतका निकायलाई आग्रह गरेका हुन् ।
गृहमन्त्री खाँडले कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गर्नुपर्नेमा समेत जोड दिए । अन्य आवश्यक विषयमा समन्वय गर्ने काम गृह मन्त्रालयले गर्ने खाँडले भनेका छन् । उनले सीमामा कोरोना खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य राज्यमन्त्रीलाई आग्रहसमेत गरे ।