
नेकपा एमालेले केन्द्रीय निकाय र विभागहरू गठन र सदस्यहरूको मनोनयन गर्ने निर्णय गरेको छ । पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आज (सोमबार) बसेको स्थायी कमिटीको बैठकले विभिन्न विभागका प्रमुख र सदस्यहरूको नाम तय गरेको हो ।
एमालेले सांगठानिक संरचनाहरूलाई पूर्णता दिन लागेको छ । माधव नेपाल पक्ष फर्केर आएको खण्डमा सो समूहका नेताहरूलाई समेट्नका लागि पर्याप्त स्थान सुरक्षित गरिएको प्रवक्ता ज्ञवालीको भनाई छ ।
विभागहरूमा अहिले सबै संख्यामा मनोनयन गरिएको छैन । प्रवक्ता ज्ञवालीले आगामी २४ गते बस्ने केन्द्रीय कमिटीले थप निर्णय गर्ने जानकारी दिए ।
स्कुल विभाग प्रमुखमा ओली
एमालेले ९ वटा विभाग बनाएको छ । बैठकले संगठन, स्कुलसहितका १४ वटा विभाग बनाएको हो । एमालेले गठन गरेको विभागमा संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, प्रचार विभाग, पर्यटन प्रवद्र्धन विभाग, स्कुल विभाग, विदेश विभाग लगायतका रहेका छन् ।
संगठन विभागको प्रमुख उपमहासचिव विष्णु पौडेल छन् भने संसदीय विभागको प्रमुखमा उपनेता सुवास नेम्वाङ, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन प्रवर्द्धन विभाग प्रमुखमा भानुभक्त ढकाल रहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यस्तै स्कुल विभाग प्रमुखमा भने अध्यक्ष केपी शर्मा ओली स्वयं छन् । विदेश विभाग प्रमुखमा डा. राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नि खरेल र स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल छन् ।
विभागहरु २५ सदस्यीय हुनेछन् । अहिले आर्थिक विभागमा दुई जना मात्र छन् भने निर्वाचनमा ६ स्कुलमा ११ सदस्य छन् भने अरुमा १४÷१५ सदस्य रहेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।