
नेकपा (एमाले) का नेता राजेन्द्रप्रसाद जोशी र पवित्रा पौडेल नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटी मंगलबार उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। नेता जोशी र नेतृ पौडेललाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका थिए।
मंगलबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको एक कार्यक्रमका बीच उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेश गर्दै नेताहरूले कम्युनिस्ट आन्दोलनको मूलधारका रूपमा माओवादी केन्द्र नै रहेकाले आफूहरू पार्टी प्रवेश गरेको र जिल्लामा नयाँ ढंगले ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउने बताए।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बिना मगरले पहलमा उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। माओवादी केन्द्रमा प्रवेश गरेका जोशी र पौडेल कञ्चनपुरका स्थापित नेता मानिन्छन्।
नेकपा (एमाले) को कञ्चनपुर जिल्ला कमिटीमा क्रियाशील जाेशी प्रजातान्त्रिक राष्ट्रिय युवा संघ र सम्पर्क मञ्चमा समेत रहेर काम गरेका सुदूरपश्चिमका नेता हुन्। त्यसैगरि नेतृ पौडेल तीन दशकदेखि राजनीतिक आन्दोलनमा सक्रिय हुँदै अनेमसंघको केन्द्रीय सचिवालयमा रहेर काम गरेकी थिइन्।