
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ)को बिक्री आजदेखि खुल्ला भएको छ। कम्पनीको आइपिओमा २४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले कुल ६० लाख कित्ता सेयर सर्वसाधारण समूहको निष्कासन गर्न लागेको हो।
जसमध्ये ३ लाख कित्ता कर्मचारीलाई र ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुने भएको हो। कम्पनीको आइपिओ ५ लाख ४० हजारले १० कित्ताका दरले पाउने छन्।
आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ। न्यूनतम १० र अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
लगत्तै मानुषी लघुवित्तको आइपिओ आउँदै
कम्पनीको आइपिओमा ३१ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ जारी गर्दैछ।
जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ।
यसमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९५४ पैसा छ। केयर रेटिङ नेपालले कम्पनीको आइपिओलाई बी प्लस रेटिङ प्रदान गरेको छ।