
नेकपा एमालेको माधव नेपालपक्षीय केन्द्रीय कमिटी बैठकमा सरकारमा जानुपर्ने विषयमा नै धेरै सदस्यहरूको एकमत रहेको धारणा राखेका छन् । बैठकमा नेताहरुले सुझाव दिने क्रम सकिएको छ । बुधबारबाट शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रम सकिएको हो ।
केन्द्रीय सदस्य मेटमणी चौधरीका अनुसार बैठकमा पार्टी एकताको विषयमा छलफल भए पनि केपी ओलीले आफ्ना गल्तीप्रति क्षमायाचना गरेमात्र त्यसतर्फ सोच्न सकिने धराणा उठेको छ ।
ओलीलाई हटाउन नसके र उनी नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने कुरा बैठकमा उठेको चौधरीको भनाई छ । चौधरीले ओलीलाई एक साताभित्र सार्वजनिकरूपमा माफी मागेर पार्टी एकताको लागि वातावरण बनाउन डेडलाइन दिइने बताए ।
यस्तै नेता सुरेन्द्र पाण्डले आफ्नो समूहले नयाँ पार्टी खोल्ने सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् । केन्द्रीय समिति बैठकपछि नेता पाण्डेले भने, ‘अहिले पार्टीमा दुईवटा ग्रुप भएको सत्य हो, दुरी पनि धेरै टाढा पुगेको हो तर पार्टी खोल्ने र नयाँ दर्ता गर्ने अवस्था छैन ।’
बैठकमा सरकारमा जाने नजानेबारे प्रश्नहरू उठे पनि तत्काल आफ्नो समूह सरकारमा जान कानुनी समस्या रहेको उनको भनाई छ ।