
नेकपा एमालेकी सांसद् कोमल ओलीले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने कुरामा आपत्ति प्रकट गरेकी छन् ।
शुक्रबार राष्ट्रियसभामा बोल्दै उनले संविधान अनुसार चल्नुपर्ने सरकार संविधानले नै नचिनेको संयन्त्र बनाउनेतर्फ लागेको आरोप लागाइन् ।
“अहिले न मन्त्रिपरिषद् बन्न सकेको छ । न मन्त्रीहरु बनेकाहरु विवादमुक्त भएका छन्,” उनले भनिन्,“केपी शर्मा ओलीलाई औँला ठड्याउनेहरु कहाँ व्यस्त हुनुहुन्छ ।” संविधानअनुसार नचलेर पृथक बनाएर चलाउन खोज्नु भनेको विधिको निम्ति लडेकाहरुको सल्लाहमा चल्ने कि विधिमा चल्ने ? भन्ने प्रश्न भएको उनको भनाइ थियो ।
हिजो केपी शर्मा ओली सरकार संविधानअनुसार नचलेको भन्नेहरु अहिले उच्चस्तरीय संयन्त्र बनाउन खोजेको भन्दै उनले सरकार सुरुवातमै विवादमा रहेको दाबी गरिन् ।
उनले भारतले तुइन काटे नेपालीको हत्या गरेको कुरामा पनि सरकारले प्रतिवाद गर्न नसकेको आरोप लगाइन् । “एक मिटर बाँकी रहँदा तुइन काटिएर नेपाली मर्दा बोल्न नसक्ने पार्टीका नेताहरु र सरकारले समिति गठन गरेको जबाफ दिएको छ,” उनले भनिन्,“समिति गठन टार्नका लागि गरिएको कुरा हो ।”