८ बैशाख २०८२, सोमबार

जतिसक्दो चाँडो सबै नागरिकलाई खोप उपलब्ध गराउनुपर्छ : राष्ट्रपति

Pro Ktm President Samman2a 1024x682 1

राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवनलाई सामान्य बनाउन जतिसक्दो चाँडो सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

नेपाल चिकित्सक सङ्घले आज राष्ट्रपति कार्यालयमा आयोजना गरेको महिला चिकित्सक सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले संविधानले मौलिक हकको रूपमा राखिएको स्वास्थ्य सेवाको कार्यान्वयन गरी सबै नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने बताउनुभयो ।

चिकित्सा शिक्षालाई सर्वसुलभ बनाई नागरिकको पहुँचभित्र पुर्‍याउन आग्रह गर्नुहुँदै राष्ट्रपति भण्डारीले सबै नागरिक समक्ष स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन राज्यको दायित्व हो भन्नुभयो ।

कोभिड–१९ को महामारीको रोकथाम र नियन्त्रण गर्दै गर्दा नयाँ÷नयाँ प्रजातिको भाइरस देखा परेको भन्नुहुँदै उहाँले भन्नुभयो, “कोभिड–१९ विरुद्ध अग्रपङ्क्तिमा रहेर काम गर्ने ठूलो जनशक्ति महिला स्वास्थ्यकर्मी भएकाले कोभिड–१९ विरुद्ध लड्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सरसफाइकर्मीप्रति सम्मान छ ।”

आजको समयमा नेपाली महिलाको ठूलो हिस्सा घरायसी कामकाजमा सीमित हुनुपर्ने अवस्था अझै रहेको भन्नुहुँदै राष्ट्रपति भण्डारीले थोरै सङ्ख्यामा महिला व्यवस्थापिका र नेतृत्व तहमा पुगेको बताउनुभयो ।

“यस्तो स्थितिमा पनि महिलाले चिकित्सा र स्वास्थ्य क्षेत्रलाई कार्यक्षेत्र बनाउनु सराहनीय हो”, उहाँले भन्नुभयो, “महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्न सरकारले आफ्ना नीति तथा कार्यक्रममा सुधार गरे पनि पर्याप्त छैन । अझ सुधार गर्नुपर्दछ ।”

उहाँले स्वास्थ्य कार्यक्षेत्रमा लागि नेपालको दूरदराजका जनतालाई स्वास्थ्य सेवा पुर्‍याएका महिला चिकित्सकलाई धन्यवाद समेत दिनुभयो । कमजोर पहुँचका कारण नेपाली महिलाले धेरै समस्या झेल्नुपरेको भन्नुहुँदै राष्ट्रपति भण्डारीले मातृ शिशु, कुपोषण, रक्त अल्पता, घर परिवारमा अन्य सदस्य बिरामी पर्दा वहन गर्नुपर्ने जिम्मेवारीजस्ता कारणले महिला स्वास्थ्यमा विशेष प्राथमिकतापूर्ण व्यवहार आवश्यक रहेको बताउनुभयो ।

उहाँले महिलाको क्षमता अभिवृद्धि, पेसागत र दक्षता विकास र नेतृत्व तहमा महिलाको सहभागिता र भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो ।

सङ्घका अध्यक्ष डा.लोचन कार्कीले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्‍याएका महिला चिकित्सकको सम्मान गरिएको बताउनुभयो ।

सङ्घका पूर्व अध्यक्ष डा.सुधा शर्माले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा महिला स्वास्थ्यकर्मी नै रहेको बताउनुभयो । सङ्घका पूर्व अध्यक्ष डा.केदारनरसिंह केसीको संयोजकत्वमा सम्मान छनोट समिति गठन गरिएको थियो ।

उक्त अवसरमा डा.दिब्यसिंह शाह, डा.रिता थापा, डा .सरस्वती पाध्याय, डा.सुधा शर्मा, डा.कुशुम थापा, डा .किरण थापा, डा.आशा सिंह, डा.संगिता भण्डारी, डा.चन्द्रा कार्की, डा .सानुमैया दलि, डा.सुधा अग्रवाल, डा.तारा मानन्धर, डा.राधा शाह र डा.अर्चना वैद्यलाई सम्मान गरिएको थियो ।