८ बैशाख २०८२, सोमबार

ऐन निर्माण नहुँदा बाँकेका हजारौं नेपाली नागरिकताविहीन, यस्ता समस्या झेल्न बाध्य

Citizenship

बाँके। नेपालको संविधानले कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित गर्न नमिल्ने व्यवस्था गरेको छ । संविधानले नागरिकताको हक सुनिश्चित गरे पनि त्यस अनुसार ऐन निर्माण नहुँदा नेपाली नागरिकका सन्तानले पनि नागरिकता पाउन सकेका छैनन् । बाँकेमा हजारौंले नागरिकता पाउन सकेका छैनन् । नागरिकता नै नहुँदा अनेकौं समस्या खेप्न उनीहरु बाध्य छन् ।

२४ वर्ष उमेर पुगिसक्दा पनि नेपालगन्ज आलानगरका माधव गुप्ताले नागरिकता बनाउन सक्नु भएको छैन । माधवकै जस्तो समस्या उहाँकी बहिनी मिनु गुप्ताको पनि छ । २० वर्षीया मिनुले पनि नागरिकता बनाउन दौडधुप थालेको धेरै समय बितिसकेको छ ।

नागरिकता व्यक्ति र राज्य बीचको कानूनी सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण र आधारभूत प्रमाण हो । माधव र मिनुका बुवा वीरेन्द्र प्रसाद गुप्तासँग जन्मको आधारमा २०६३ सालमा जारी भएको नागरिकता छ । बुवाले नेपाली नागरिकता पाउनुभन्दा पहिले जन्मिएका सन्तानका लागि नागरिकता दिने प्रष्ट कानूनी व्यवस्था नहुँदा माधव र मिनुले नागरिकता पाउन सक्नु भएको छैन ।

नयाँ संविधान जारी भएको ५ वर्ष बितिसक्दा पनि नेपाली नागरिकता संशोधन गर्न बनेको विधेयक संसदमा पुगेर अड्केको अड्क्यै छ । जस्का कारण नागरिकता समस्या समाधान हुन सकेको छैन । उच्च शिक्षादेखि मोबाइलको सिम कार्ड लिन, बैंक खाता खोल्न र जागिर खान नागरिकता चाहिन्छ । तर नागरिकता नभएकै कारण माधव र मिनु जस्तै हजारौं नागरिकले अहिले अनेकौ सास्ती खेप्दै आएका छन् ।

अघिल्लो सरकारले नागरिकता अध्यादेश जारी गरेको थियो । तर नागरिकता वितरण शुरु नगर्दै सर्वोच्चले नागरिकता जस्तो संवेदनशील विषय अध्यादेशबाट सम्बोधन हुन नसक्ने भन्दै कार्यान्वयनमा रोक लगाइदियो ।

अब नागरिकतासम्बन्धी हालको कानूनी व्यवस्था परिमार्जन गर्न संसदबाट विधेयक पारित गर्नुपर्ने भएको छ । तर प्रमुख राजनीतिक दलबीचको द्वन्द्व र खिचातानीले विधेयक कहिले पारित हुन्छ भन्ने अन्योल छ ।