
नेकपमा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाल-खनाल समूहले माग गरे जस्तो पार्टीका बैठक, अधिवेशन र सदस्यता नवीकरण नरोक्ने बताउनुभएको छ ।
हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै महासचिव पोखरेलले एमाले आफ्नो गतिमा अघि बढ्ने बताउनुभयो । आउन चाहनेहरु जहिले पनि आउन सक्ने पोखरेलले बताउनुभयो ।
प्रतिनिधिसभा विघटन गरेकोमा अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्नुपर्ने नेपाल–खनाल समूहको माग रहेकोमा पोखरेलले त्यसलाई पनि अस्वीकार गर्नुभयो ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाएर ओली बराबर अधिकार दिन पनि सकिने पोखरेलले बताउनुभयो ।
एमाले महासचिव पोखरेलले माओवादी केन्द्रसितका एकता गलत र एमालेका लागि कालो खण्ड भएको टिप्पणी गर्नुभयो । प्रचण्ड र नेपालका कारण समस्या आएको पोखरेलको भनाइ छ ।
पोखरेलसितको विस्तृत कुराकानी राति नौ बजे कार्यक्रम यक्ष प्रश्नमा प्रसारण हुनेछ ।