
नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पहिलोपटक आज संसद्मा सम्बोधन गर्ने भएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी दलको नेताको हैसियतमा ओलीले संम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
ओलीले सरकार गठन, सर्वोच्चको परमादेश र यसबीचका घटनाक्रम तथा सरकारको न्यूनतम साझा कार्यक्रममाथि प्रश्न उठाउने सम्भावना छ ।
सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद बैठक कक्षभित्र छिरेका ओलीले यसबीचमा बैठकमा सहभागिता जनाएका छैनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्ता गठबन्धनका नेता प्रचण्डले समेत संसदको पहिलो बैठकमा ओलीलाई खोजेका थिए भने प्रधानमन्त्रीलाई बधाई दिने बेला समेत ओलीको अनुपस्थितिप्रति प्रश्न उठाएका थिए ।