
आफ्नै श्रीमानबाट एसिड आक्रमणमा परेकी जनकपुरधामकी आरती साह एसिड बेच्नेलाई अदालतले सफाइ दिएपछि आक्रोशित बनेकी छन् ।
जिल्ला अदालत धनुषाले उनीमाथि एसिड खन्याउने उनकै श्रीमान सञ्जीव साहलाई दोषी ठहर गरेको छ भने एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दिएको छ ।
सोमबार न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सञ्जीबलाई दोषी ठहर र एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दिएको हो । सञ्जीवमाथि सजाय निर्धारण भने बाँकी नै छ ।
अदालतको फैसलाविरुद्ध आरतीले मंगलबार अदालत पुगेर आपत्ति जनाएकी हुन् । एसिड बेच्ने नागेन्द्रलाई किन सफाइ दिएको भनेर उनले अदालतमै आक्रोश पोखेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
अदालतले एसिड बेच्नेलाई सफाइ दिएको खबर पाएलगत्तै आरती आक्रोशित बनेकी छन् । उनले वकिलले पैसा खाएर एसिड बेच्नेलाई सफाइ दिन लगाएको आरोप लगाएकी छन् ।
आरतीमाथि एसिड खन्याएकै दिन पक्राउ परेका श्रीमान सञ्जीवबिरुद्व सरकारी वकिलको कार्यालयले अदालतमा १५ वर्ष ६ महिना कैद सजायको माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए ।
२०७७ कात्तिक २९ गते दिपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले श्रीमती आरती साह र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।