
अमेरिकी गुप्तचर निकायहरुले गत साता मात्रै निष्कर्ष निकालेका थिएः तालिबानलाई अफगानिस्तानको राजधानी काबुल कब्जा गर्न कम्तीमा तीन महिना लाग्नेछ।
तर, साता दिन नबित्दै धार्मिक कट्टरपन्थी समूह राजधानी प्रवेश गरेको छ। अहिले शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि वार्ता चलिरहेको छ।
तत्कालका लागि अन्तरिम सरकार गठन गरेर सत्ता हस्तान्तरण गर्नुपर्ने सरकारी पक्षको भनाइ छ।
सत्ता तालिबानको हातमा पुगेपछि राष्ट्रपति असरफ गानी के गर्लान् भन्ने आम चासो छ। उनी देश छाडेर भागेको हल्ला समेत चलिसक्यो। तर, उनी अफगानिस्तानमै रहेको उनीनिकट स्रोतलाई उधृत गर्दै अल जजिराले जनाएको छ।
आइतबार बिहान गानीले प्रथम महिलासँगै राष्ट्रपति भवनको बगैँचामा समय बिताएको बताइएको छ।
गानीले केही घण्टाभित्रै राजीनामा दिनसक्ने स्पुतनिक समाचार एजेन्सीले जनाएको छ। तालिबानसँग सहमति हुन नसके गानी देश छाडेर अर्को मुलुकमा शरण लिन जाने अनुमान पनि गरिँदैछ।
उनको भविष्यबारे विभिन्न अड्कलबाजी चलिरहँदा गानीले भने राजधानी काबुलमा शान्ति–सुव्यवस्था कायम राख्न सुरक्षा फौजलाई आदेश दिएका छन्।
अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि तालिबानलाई रोक्ने गानीको सबै प्रयास खेर गएका छन्। अफगान सरकारले सुरक्षा फौज परिचालन गर्नेदेखि लिएर नागरिकलाई हतियार दिनेसम्मका उपाय अपनाएको थियो।
अघिल्लो पटक सत्तामा हुँदा तालिबानले गरेको ज्यादतीका कारण हजारौँ आतंकित नागरिक मुलुकको अन्य क्षेत्र छाडेर काबुलमा जम्मा भएका छन्। मुलुकमा फेरि इस्लामिक सरिया कानुनको अन्धकार शासन चल्ने भय उनीहरुमा छ।
तर, तालिबानले आफूहरुले आधारभूत अधिकारको रक्षा गर्ने भन्दै नागरिकलाई आश्वस्त तुल्याउने प्रयास गरेको छ। एजेन्सी