
धनुषामा कोरोनाको अवस्थामा सुधार हुँदै गए पनि कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेको भन्दै भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको छ ।
आज मध्य राति १२ बजे देखि भदौ १५ गते मध्य राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गर्ने निर्णय जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समिति धनुषाको बैठकले गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
पछिल्लो पटक जारी भएको निषेधाज्ञापछि पनि विद्यालय, कलेज, इन्स्टिच्युट, कोचिङ सेन्टर, तालिम सेन्टरमा पठनपाठन सुचारु नहुने भएको छ भने नेपाल भारतको धनुषाका कुनै पनि सीमा नाका नखुल्ने भएका छन् । तर, विश्वविद्यालय तथा लोकसेवा आयोगको परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गर्न पाउने भएका छन् ।
बजार, उद्योग कलकारखाना, सरकारी कार्यालय, निजी कार्यालय, वित्तीय संस्थाहरू खुल्ला रहे पनि स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गरेर मात्र सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख रहेको छ ।