
अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिबानले सत्ता कब्जा गर्नुमा अफगान सरकार नै जिम्मेवार भएको आरोप लगाएका छन् ।
तालिबानले अफगानिस्तान कब्जा गर्दै विजय भएको घोषणा गरेपछि बाइडेनले सोमबार सम्बोधन गर्दै अफगानको यो स्थितिका लागि देश छोड्ने नेताहरु नै जिम्मेवार भएको बताएका हुन् ।
उनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ताको बचाउ गरे । अमेरिकी सेना फिर्ता गर्ने निर्णय सही भएको बताए । उनले अफगानिस्तानबाट अमेरिकी सेना बहिर्गमनको निर्णयमा आफू पूर्ण रूपमा कटिबद्ध रहेको बताए ।
अहिलेको अफगानिस्तानको अवस्थाको जिम्मेवार अफगानी राजनीतिक नेताहरु र अमेरिकाले तालिम दिएर पनि लड्न नचाहेका अफगान सेना रहेको बाइडेनको आरोप लगाए ।
उनले अफगानिस्तानका राष्ट्रपति अशरफ घानीलाई संकटको राजनीतिक हल खोजीका लागि तालिबानसँग वार्ता गर्न सल्लाह दिएको बताए पनि उनले नमानेको आरोप लगाए ।
उनले अमेरिकी सैनिकमाथि हमला भएमा यसको तुरुन्त जवाफ दिने र आवश्यकता पर्दा आफ्नो पूरा शक्तिसहित आफ्ना जनताको रक्षा गर्ने बताए ।