
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार मुख्यमन्त्री निवास छाड्नु भएको छ । बुधवार मुख्यमन्त्रीबाट राजीनामा दिनुभएका मुख्यमन्त्री पौडेलले बिहीबार सरकारी निवास छाड्नु भएको हो ।
उहाँलाई बृहत् मोटरसाइकल र्यालीसहित एमाले कार्यकर्ताहरूले उहाँको निजी निवाससम्म पुर्याएका थिए । हेटौँडा–२ स्थित चौकिटोलमा रहेको मुख्यमन्त्री निवासमा डोरमणि पौडेल ४३ महिना बिताउनुभएको छ ।
४३ महिना प्रदेश सरकारको नेतृत्व गरिरहँदा प्रदेशको १३ जिल्लालाई कसैले पनि औँला उठाउन नसकेको उहाँले बताउनुभयो । १३ वटै जिल्लामा विकासका कामहरू भएको भन्दै प्रदेशलाई पनि गति दिएको उहाँले बताउनुभयो ।

सङ्घीय सरकार र माथिल्लो तहमा बस्ने नेताहरूलाई एकताको सन्देश दिन राजीनामा दिनुभएका निवर्तमान मुख्यमन्त्री पौडेलले पछिल्लो केही समयदेखि नै यसको लागि तयारी भइरहेको बताउनुभयो । “देख्दा अकस्मात् यस्तो देखिन् सक्छ, तर यस्तो भएको हैन, सबै व्यवस्थित रुपमा भएको उहाँले भन्नुभयो ।”
पूर्व मुख्यमन्त्री पौडेलले आफ्नो निजी निवासमा पुगेर पदमा नभए पनि जनताको सेवा गरिरहने बताउनुभएको छ । स्थानीय चुनाव नजिकिँदै गरेको भन्दै अब जनताको घरघरमा पुग्ने वातावरण बनेको उहाँले बताउनुभयो ।
