
निर्वाचन आयोगले संशोधित नियमावली राजपत्रमा प्रकाशित गरेको छ ।
आयोगले बिहीबार साँझ संशोधित नियमावली राजपत्रमा प्रकाशित गरेसँगै दल दर्ताको निवेदन दिने कानुनी बाटो खुलेको छ ।
राष्ट्रपतिले बुधबार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेअनुसार आयोगले नियमावली संशोधन गरेको हो ।
नियमावली संशोधन भएसँगै एमाले र जसपाबाट छुट्टिएका दुई पार्टीले निर्वाचन आयोगमा दर्ता गरेको दल दर्ताको निवेदन प्रक्रिया अघि बढ्ने भएको छ ।
एमालेबाट अलग भएको माधवकुमार नेपाल समूहले नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेको महन्थ ठाकुर नेतृत्वले जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) दर्ताका लागि बुधबार निवेदन दिएका थिए । तर, निर्वाचन आयोगले अध्यादेशअनुसार नियमावली नबनेको भन्दै दर्ता प्रक्रिया अगडि बढाएको थिएन ।
नियमावली संशोधन भइसक्यो अब कुनैपनि नयाँ दलले दर्ताका लागि निवेदन दिन सक्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । कानुनमा ४५ दिन भित्र दल दर्ताको प्रमाणपत्र दिनुपर्ने व्यवस्था भएपनि १० दिन भित्रै सबै प्रकृया टुंग्याउने तयारीमा आयोग रहेको उहाँले बताउनुभयो ।
