
नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो पार्टीलाई कमजोर बनाउने प्रयास भएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टीलाई कमजोर बनाउने काममा लागेको आरोप लगाए । तर, एमाले कमजोर पार्ने देउवा, दाहाल र सापकोटा तीनै जनालाई आगामी दिनमा महँगो पर्ने उनको चेतावनी छ ।
नेता बस्नेतले अध्यादेश ल्याउनुको अर्को उद्देश्य भनेको आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्याउने षड्यन्त्र रचिएको बताए । आगामी निर्वाचनमा पनि नेकपा (एमाले) नै अत्यधिक बहुमतका साथ आउने उहाको दाबी थियो । ४० महिनाको अवधिमा ओली सरकारले विकास र समृद्धिको यात्रा अघि बढाएको स्मरण गराउँदै उनले अहिले ओलीको उक्त समृद्धिको यात्रामा ब्रेक लगाउने काम भएको पनि टिप्पणी गरे ।
उनले सभामुखले आफू निश्पक्ष र स्वतन्त्र हुनुपर्ने र त्यहीअनुसार चल्नुपर्ने कुरा भुलेको पनि बताए । बस्नेतले नेकपा एमाले विधान महाधिवेशन गर्दै जनसंगठन निर्माण र कमिटी निर्माणमा केन्द्रित हुने जनाए । माओवादी परित्याग गरी एमालेमा प्रवेश गरको नेताहरुलाई अहिलेपनि उचित भूमिका दिईएको बस्नेतको भनाई छ ।