७ बैशाख २०८२, आईतवार

शिया हजारा समुदायका व्यक्तिको तालिबान लडाकुले क्रुरतापूर्वक हत्या गरेको एम्नेष्टीको आरोप

taliban
फाइल फोटो

अफगानिस्तानमा तालिबान लडाकुले शिया हजारा समुदायका नागरिकको क्रुरपूर्वक हत्या गरेको मानव अधिकारवादी संगठन एम्नेष्टी इन्टरनेशनले दाबी गरेको छ ।

तालिबानले हालैका दिनमा गजनी प्रान्तमा हजारा समुदायका मानिसको हत्या गरिरहेको एम्नेष्टीको दाबी छ । प्रत्यक्षदर्शीले जुलाईको शुरुवाती दिनमा भएको हत्या र यातनाबारे एम्नेष्टी इन्टरनेशनलाई बताएको बीबीसीले जनाएको छ ।

गजनी प्रान्तको मालिस्तानमा जुलाई ४ देखि ६ बीच हजारा समुदायका ९ जना पुरुषको बर्बर हत्या भएको एम्नेष्टीको प्रतिवेदनमा उल्लेख छ । एम्नेष्टीले उक्त घटनालाई तालिबान शासनको आतंकको सूचक भनेको छ ।

सरकारी सेनासंगको भीषण संघर्षका क्रममा तालिवान लडाकु पहाडी क्षेत्र मालिस्तानको मुन्दरख्त गाउँ पुगेपछि यो घटना भएको प्रतिवेदनमा उल्लेख छ । गाउँ पुगेपछि तालिबान लडाकुले लुटपाट मच्चाउंदै हत्या गरेका थिए ।

शिया इस्लाम मान्ने हजारा समुदाय अफगानिस्तानको तेस्रो ठूलो जातीय समूह हो । एम्नेष्टीले घटनाको जाँच गर्न र अफगान नागरिकको सुरक्षा सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघ सँग माग गरेको छ ।

यसअघि संयुक्त राष्ट्रसंघले तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसको खोजी कार्यलाई तीव्र बनाएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।