
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यताकै कारण पुनः महाधिवेशनको कार्यतालिका प्रभावित पार्न नहुने बताएका छन् ।
पौडेल पक्षका सभापतिका आकांक्षीहरुले सामूहिक छलफल गरि सदस्यता विवादकै कारण पुनः महाधिवेशन प्रभावित हुन नहुनेमा जोड दिएका हुन् ।
सदस्यता विवादका कारण चौथोपटक तोकिएको महाधिवेशनको कार्यतालिका समेत प्रभावित हुने अवस्था आएपछि पौडेल समूहका शीर्ष नेताहरुले विवादलाई चाँडो समाधान गर्नु पर्नेमा जोड दिएका हुन् । उनीहरुले तत्काल बाँकी विवाद टुंगाएर महाधिवेशनको प्रक्रियालाई अघि बढाउनु पर्ने बताएका छन् ।
आगामी भदौ १८ मा वडा अधिवेशन गर्ने कार्यतालिका छ । तर, अहिलेसम्म पनि सदस्यताको टुंगो लगाउन भने सकेको छैन ।
क्रियाशील सदस्यताकै कारण महाधिवेशन स्थगित गर्नुपर्ने अवस्था आउन दिन नहुने, जिल्ला सभापतिहरुको माग बमोजिम क्रियाशील सदस्यताको विवरण तत्काल सार्वजनिक गर्नुपर्ने र पौडेल समूहबाट एक जनामात्रै उम्मेदवार बन्नुपर्ने भन्ने विषयमा सामूहिक छलफल केन्द्रित भएको केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिनुभयो ।