
बुवा र श्रीमतीको हत्या गरेर शव खाल्डोमा गाड्ने एक युवक पक्राउ परेका छन् ।
धनुषामा केही दिनअघि वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्ति आफ्नै बुवा र श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतका अनुसार मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी २७ वर्षीय भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेको आरोप छ । दुवै जनाको हत्या गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा खाल्डो खनेर गाडेको पाइएको छ ।
भागेश्वरले सोमबार राति १२ बजेतिर दुवैको हत्या गरेको पाइएको छ ।
प्रहरीका अनुसार बिहान उनका ३ र ४ वर्षका बच्चा रोइरहेको र भागेश्वर आफैं टोलाएर बसिरहँदा पुगेका छिमेकी पुगेका थिए । छिमेकी पुग्दा दुवैको हत्या भएको थाहा पाएर छिमेकीले प्रहरीलाई जानकारी गराएका थिए । भागेश्वरले प्रहरीसामु बाबु र श्रीमतीको हत्या गरेको स्वीकारेका छन् ।
भागेश्वर वैदेशिक रोजगारीबाट गत चैत महिनामा घर फर्केका थिए । पारिवारिक विवादका कारण उनले बुवा र श्रीमतीको हत्या गरेको देखिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।