
कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग्गिएर छुट्टै दल दर्ता प्रक्रियामा रहेका नेता कार्यकर्तालाई गलत बाटो त्यागेर पुनः पार्टीको मूलधारमा फर्कन आग्रह गर्नुभएको छ ।
नेकपा एमाले स्थायी कमिटीको बैठकका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पार्टी विभाजनको गलत बाटो त्यागेमा पार्टीले कुनै पूर्वाग्रह विभेद र कुनै पनि कारबाही नगर्ने दोहोर्याउनुभयो ।
अध्यक्ष ओलीले दल विभाजनको दूषित मनसाय राखेर व्यक्ति विशेषका लागि अध्यादेश जारी गरेको भन्दै वर्तमान सरकारले मुलुकलाई अस्थिर र अलोकतान्त्रिक बाटोमा लैजान चाहेको बताउनुभयो ।
पार्टीले १४ जना सांसदलाई गरेको कारबाहीको सभामुखले सूचना टाँस नगरेकोप्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष ओलीले सभामुखले संसदीय मर्यादा र निष्पक्ष भूमिका खेल्न नसकेको बताउनुभयो ।
अध्यक्ष ओलीले माधवकुमार नेपाल समूहले नेताहरूलाई बलजफती रिसोर्टमा लगेर राखेर अपहरण शैलीमा दल दर्ताको सनाखतमा लगेको आरोप लगाउनुभयो ।
नेकपा एमालेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीद्वारा जारी ८ बुँदे वक्तव्यमा यसअघिको पार्टी स्थायी कमिटी तथा केन्द्रीय कमिटीले अनुमोदन र कार्यान्वयन गर्ने १० बुँदे प्रस्तावको कार्यान्वयन गर्न ठोस कार्यसूची र तालिका निर्धारण गरेको, पार्टी एकताका पक्षमा रहेका नेताहरूलाई पूर्ववत् जिम्मेवारी दिने, वर्तमान सरकार भूमि सम्बन्धी आयोग विघटन गरी भूमिहीन सुकुम्वासीप्रति उदासीन रहेको र अफगानिस्तानबाट नेपालीहरूलाई फर्काउने विषयमा सरकार गैर जिम्मबार देखिएको उल्लेख गरिएको छ ।