
तनहुँको कालीमाटी कुन्छा मोटर मार्ग मर्मतका लागि स्थानीयले नगरपालिकामा बिहीबार ७ दिने अल्टिमेटम दिएका छन् । गत असार १ गते र त्यसपछि असार १८ गते परेको वर्षाका कारण सडक क्षत विक्षत भई मोटरसाइकल, एम्बुलेन्स, जिप, बस, लगायतका कुनै पनि सवारी साधन चल्न सक्ने अवस्था नरहेको भन्दै भानु नपा वडा नं. १० र ११ का स्थानीय नगरपालिकामा डेलिगेसन आएका हुन् ।
कालीमाटी दुधेकुना हुँदै कुन्छा जोड्ने सडकको करिब साँढे २ महिना बितिसक्दा पनि स्थानीय तहले चासो नदिएकाले बिरामीलाई समेत स्ट्रेचरमा बोक्नु पर्ने बाध्यता आइपरेको स्थानीय समाजसेवी विष्णु प्रसाद पोख्रेलले गुनासो गर्नुभयो।
“ सडक मर्मतका लागि गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्दा स्थानीय तहमै निवेदन दिन भनेपछि मर्मतका लागि निवेदन दिन आएका हौँ । करिब २५ वर्ष अगाडि काँग्रेस नेता पूर्व मन्त्री गोबिन्दराज जोशीको पहलमा सडक खोलिएको भए पनि अहिले सम्म स्तर उन्नति हुन नसक्नु दुखद भएको भन्दै आगामी साता सम्म पनि मर्मतको काम सुरु नभए स्थानीय चुप लागेर बस्दैनौँ” उहाँ भन्नुभयो ।
तनहुँ कै एक महत्त्वपूर्ण सडक भएर पनि उपेक्षा गरिनु जनताको अधिकार माथिको खेलबाड भएको भन्दै सडक मर्मतको काममा नगरपालिकालाई साथ दिन स्थानीय तयार रहेको स्थानीय बुद्धिजीवी रामकृष्ण ढकालले बताउनुभयो ।
गुनासो लिएका आएका स्थानीयलाई सान्त्वना दिँदै नगरपालिका मेयर उदयराज गौलीले तत्काल मर्मतका लागि ढुङ्गा, गिटी, ग्राभेलको आवश्यक पर्ने भएकाले सो को व्यवस्थापनका लागि जिल्ला समन्वय समितिमा छलफल गरी समाधान गरिने जानकारी दिँदै मौसमले साथ दिएमा २÷३ दिन भित्रै काम सुरु हुने बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमनिधि तिवारीले आफूसहित प्राविधिकको टोली शुक्रवार नै उक्त सडकको अवलोकनका लागि जाने र तत्काल नगरपालिकाले गर्न सक्ने कार्य गरी एम्बुलेन्स चल्न सक्ने बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भानु नगरपालिकाका वडा नं. १० र ११ का करिब ५०–६० जना स्थानीय बस रिजर्भ गरी छिमेकी जिल्ला लमजुङको सन्दरबजार हुँदै नगरपालिकाको कार्यालय भन्सार आएका थिए ।