
सुदूरपश्चिमका पहाडी जिल्लामा परेको अविरल वर्षाले कञ्चनपुरको दक्षिणी क्षेत्र डुबानमा परेको छ । शुक्रबार राति परेको अविरल वर्षाले दोँदा नदीमा आएको बाढी बस्तीमा पसेपछि कञ्चनपुरका दक्षिणी क्षेत्रका १८० घरधुरी डुबानमा परेका हुन् ।
अविरल वर्षाले कञ्चनपुरको बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकाका घरहरु डुबानमा परेका छन् । डुबानबाट मानवीय क्षति नभएपनि घरमा भण्डारण गरी राखिएको अन्नबाली र पशुचौपाया पानीले बगाएको स्थानीयले बताएका छन् ।
लालझाडी गाउँपालिकामा किसानले पालन गरिरहेका माछासमेत बाढीले बगाएको लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले जानकारी दिनुभयो ।
बाढीले डुबानमा परेका केही पीडितलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्वार गरेको छ । क्षतिको विवरण आउन अझ बाँकी रहेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाशसिँह बिष्टले बताउनुभयो ।