
अविरल वर्षापछि पहिरो खस्दा काठमाडौं प्रवेश गर्ने विभिन्न राजमार्ग अवरुद्ध बनेका छन् ।
आइतबार सडकमाथिबाट आएको पहिरोका कारण त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ । नागढुङ्गा नजिकै चिसापानी धारा आसपास क्षेत्रमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक रुपा थापाले जानकारी खिदनुभयो ।
पहिरो पन्छाउने कार्य शुरु भए पनि पानी परिरहेकाले केही समय लाग्ने प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएका कारण सवारी साधनको सात किलोमिटरसम्मको लाइन लागेको छ ।
उता निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको सडक अहिले पुनःअवरुद्ध भएको छ ।
ईन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा अहिले उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । अहिले पनि पहिरो हटाउने क्रम जारी छ ।
प्रहरीका अनुसार लेदो माटोसहितको ठूलो पहिरो खसेको र वर्षा भइरेहको हुँदा पहिरो पन्छाउन समस्या भएको छ।