
नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफुहरु कुनै पार्टी सँग एकता नगर्ने बताउनुभएको छ ।
आज पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले कुनै पार्टीसँग एकता नगर्ने बताउनुभएको हो । सञ्चार माध्यममा एकीकृत समाजवादी पार्टी अन्य पार्टी सँग एकता गर्न लागेको, अरुको पार्टीमा गएर विलिन हुन लागेको भन्ने प्रचार भइरहेको भन्दै उहाँले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको उल्लेख गर्नुभयो । आफ्नो पार्टीको तल्लो तहसम्म पार्टीका कमिटीहरु विद्यमान रहेको भन्दै उहाँले पार्टी एकता नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो – ‘अहिले नै हामी अरु कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौँ । पार्टी एकता हुने छैन । यो पनि प्रष्ट पार्न चाहन्छु म । कतिचोटी भन्नुपर्छ प्रष्ट पार्न चाहन्छु । यही सन्देश जाओस् मिडियाको माध्यमबाट । कसैकसैले के भन्ने ग¥या छन् भने अरुको टाङ मुनि छिर्न गइरहेका छन्, अरुको कार्यकर्ता बन्न गइरहेका छन् । तुरुन्तै अर्को पार्टीमा समाहित भएर विलिन हुन गइरहेका छन् । त्यो सबै वाहियात प्रचार हो । कुनै सत्यता छैन त्यसमा । हाम्रो संगठनको संरचना विद्यमान छ तलतल, अलरेडी विद्यमान छ गाउँगाउँमा, टोल टोलमा, बस्ती बस्तीमा, जिल्ला जिल्लामा, जनसंगठनहरुमा । समानान्तर रुपमा सबै कमिटीहरु विद्यमान छन् ।’
अध्यक्ष नेपालले अर्थतन्त्रलाई गतिशील, चलायमान र समृद्ध बनाउन र जनतालाई गरिबीको चक्रबाट मुक्त गर्नका लागि आफूहरुको ध्यान केन्द्रीत हुने बताउनुभयो । उहाँले पार्टीमा युवाहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर अगाडी बढाउन तयार रहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘हामीले हाम्रो अर्थतन्त्रलाई गतिशील, चलायमान र समृद्ध बनाउनका लागि, नेपाली जनतालाई गरिबीको चक्रबाट मुक्त गर्नका लागि, युवाहरुलाई व्यापक रुपमा आशा जगाउनका लागि, रोजगारीको प्रबन्ध गर्नका लागि, सीप विकास गर्नका लागि, युवाहरुको खुबी, क्षमता, प्रतिभाहरुलाई उजागर गर्नका लागि हाम्रो ध्यान केन्द्रीत हुनेछ । पार्टीभित्र पनि हामी युवाहरुको ठुलो प्रवेश पार्टीको सदस्य बनाउनका लागि, कमिटीका जिम्मेवारीहरु प्रदान गर्नलाई र भोलि गएर नयाँ पुस्तालाई एकपछि अर्को जिम्मेवारी सुम्पिनका लागि तयार भएर बसेका छौँ ।’
उहाँले आफुहरु मार्क्सवादबाट निर्देशित भएर वर्गीय दृष्टिकोण आत्मसात् गर्दै अघि बढ्ने बताउनुभयो । नेता, कार्यकर्ताहरुले दृष्टिकोणमा विचलन आउन नदिन र गैर सर्वहारा प्रवृति हटाउन विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।