
कोरोना भाइरससम्बन्धी अफवाह फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २१ वर्षीय विवेक थापा मगर छन् । उनलाई साइबर व्युरोको टोलीले पक्राउ गरेको प्रहरी प्रवक्ता शैलेश थापाले जानकारी दिए ।
नर्भिक अस्पतालमा ९ जनामध्ये ६ जनामा कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्दै उनले अडिओ बनाएका थिए।
विवेकले नर्भिक इन्टरनेशनल हस्पिटलमा अस्पतालमा ८ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको सूचना एकजना चिकित्सकले बताएको क्लिप ‘भाइरल’ भएको थियो । उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केहीको मृत्यु भएको भ्रम फैलाएका थिए ।
प्रारम्भिक सोधपुछमा निजले आफुले संचालन गरेको पेजमा reach र engagement वृद्धि गर्न सो भ्रम र अफवाह फैलाएको स्विकार गरेका छन् । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
उक्त अडियो म्यासेन्जरमा भाइरल भएपछि प्रहरीको साइबर ब्युरो अनुसन्धानमा जुटेको थियो। आजै नर्भिक हस्पिटलले समेत भम्र फैलाउने व्याक्तिमाथि कारवाहीको माग गरेको थियो ।
आफूले संचालन गरेको कुनै पनि पेजहरुमा reach र audience वृद्धि गर्न यस किसिमका गतिविधि नगर्नहुन र यस्ता कार्यमा संलग्न रहेको फेला परेमा प्रचलित ऐन कानुन बमोजिम कडा कारबाही हुने व्यहोरा समेत सबैमा जानकारी गराउँदछौं ।