
भारतले दार्चुला घटनाको बारेमा स्थलगत अध्ययन सकेर नेपालले तयार पारेको प्रतिवेदनप्रति टिप्पणी गर्न अस्वीकार गरेको छ ।
भारतीय विदेश मन्त्रालयमा विहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले छानविन समितिको प्रतिवेदन नेपालको आन्तरिक भन्दै त्यसबारे टिप्पणी गर्न अस्वीकार गर्नुभएको हो ।
उहाँले घटनाका सम्बन्धमा आफूले पनि मिडिया रिपोर्ट देखेको तर आधिकारिक रुपमा कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिनुभयो । उहाँले भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय पुष्टि नभएकाले आरोप मात्र भएको उल्लेख गर्नुभयो ।
यता गृह मन्त्रालयले महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामी घटनामा संलग्नमाथि कारबाहीका लागि कुटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिले प्रतिवेदन बुझाएपछि गृह मन्त्रालयले अनुसन्धान गरेर दोषीमाथि कारबाही, परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन कुटनीतिक पहल गर्न परराष्ट्रलाई सिफारिस गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले छानविन समितिले दिएको सुझावको आधारमा विषयवस्तु समेटेर परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिनुभयो ।
छानविन समितिले ब्याँस गाउँपालिका वडा नं २ का धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटना भारतीय सीमा सशस्त्र बल (एसएसबी) को उपस्थितिमा भएको बताएको छ । तर प्रत्यक्षदर्शीहरुले एसएसबीले तुइनको तार फुकालेको कारण धामी बेपत्ता भएको समिति समक्ष बयान दिएका छन् ।