
नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६२ जना नेपालीलाई काठमाडौं ल्याएका छन् । सरकारले मलेसिया, जापानसहितका मुलुक तथा खाडी मुलुकबाट नेपाल आउन प्रतिबन्ध लगाए पनि एयर इन्डिया र थाई एयरका जहाजले शनिबार ती देशहरुबाट ६१ जना यात्रुहरु नेपाल ल्याएको छ।
सरकारले शुक्रबारदेखि लागू हुने गरी युरोपका सबै मुलुक, खाडी मुलुक, पश्चिम एसियाका सबै मुलुकहरु, जापान, मलेसिया र दक्षिण कोरियाबाट आगमन प्रतिबन्ध लगाएको थियो। यद्यपि एयर इन्डिया र थाई एयरका जहाजले सरकारको निर्देशन पालना गरेनन्।
अध्यागमन विभागकाअनुसार थाइ एअरवेज र एअर इन्डियाले नेपालले प्रतिबन्ध लगाएका मुलुकमा रहेका नेपालीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका हुन् । उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रस्थित ‘क्वारेन्टाइन’मा पठाइएको छ ।
सरकारले शुक्रबार राति १२ बजेपछि कुनैपनि यात्री नेपाल आउन नपाउनेगरी प्रतिबन्ध लगाएको थियो । साथै, यी मुलुकबाट अन्य मुलुकलाई ‘ट्रान्जिट’ बनाएर पनि यात्री आउन नपाउने सरकारले जनाएको थियो ।
सरकारले योसम्बन्धी परिपत्र विदेशी एअरलाइन्सहरूलाई पठाएको भएपनि त्यसको उल्लंघन गर्दै विदेशी एअरलाइन्सहरूले नेपाली नागरिकलाई ओसारेका हुन् । सरकारी निर्णय अटेर गरी काठमाडौंमा यात्री झार्ने एअरलाइन्स कम्पनीहरूलाई कारबाही गर्नका लागि नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराइसकेको अध्यागमन विभागले जनाएको छ ।
यसअघि, चीनबाट ल्याइएका १७५ जना नेपालीलाई पनि खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो । उनीहरू १४ दिन क्वारेन्टाइनमै बसेर घर फर्किएका थिए । सरकारले चैत ९ गतेदेखि चैत १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ।