
महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा विभिन्न समयमा अनियमित ढंगले बिक्री वितरण गरिएको, कानून मिचेर जग्गा लिजमा दिइएको लगायतका उजुरीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली महेन्द्रनगर पुगेको छ ।
कञ्चनपुरको भीमदत्त नगर विकास समितिले प्रक्रिया मिचेर जथाभावी जग्गा बिक्री र लिजमा दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गर्न अख्तियारको केन्द्रीय कार्यालयका उपसचिव ओमप्रकाश बराल नेतृत्वको टोली महेन्द्रनगर पुगेको हो ।
कानून विपरीत जग्गा बिक्री र लिजमा दिइएको उजुरीका विषयमा विस्तृत अनुसन्धान गर्न उपसचिव बरालको नेतृत्वमा चार सदस्यीय टोली आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले जानकारी दिएका छन् ।
अख्तियारको संयुक्त टोलीले आइतबार भीमदत्त नगर विकास समितिसँग छानबिनका लागि आवश्यक पर्ने कागजपत्र सहित नगर विकास समितिको स्वामित्वमा रहेको जग्गासँग सम्बन्धित विवरण माग गरेको छ ।
२०३५ साल जेठ २० मा गठन भएको तत्कालीन महेन्द्रनगर नगर विकास समिति अहिले भीमदत्त नगरपालिका मातहत छ । ६३८ बिघा ६ कठ्ठा ८ धुर जग्गा नगर विकास समितिको स्वामित्वमा रहेकोमा विभिन्न समयमा ५७२ बिघा जग्गा बिक्री गरेको पाइएको छ ।
राजनीतिक दलका नेता, जग्गाका माफिया र कर्मचारीहरुको समेत मिलेमतोमा नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा जथाभावी बिक्री वितरणदेखि लिजमा दिइएको आरोप लाग्ने गरेको छ ।