
गौरबाट काठमाडाैंका लागि छुटेको यात्रुबसबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौर नगरपालिका ४ स्थित टिकुलिया बस्ने १९ वर्षीय सन्तोष ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गौरबाट काठमाडाैं गइरहेको ना ७ ख १९४१ नंको यात्रुबसलाई चेकजाँच गर्दा निज ठाकुरको खल्तीबाट ७ पत्तामा अर्थात १०२ पिस नाईट्रोभेट ट्याबलेट र १० पिस डाईजापाम एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयाे ।
जिल्लाको यमुनामाई गाउँपालिका वडा ५ स्थित बमनहमा शनिवार काठमाडाैं गइरहेको रात्री बसलाई चेकजाच गर्ने क्रममा लागुऔषध बरामद गरिएको हो ।
पक्राउ परेका ठाकुरलाई आइतवार जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।