
प्रमुख विपक्षी नेकपा एमालेको उपस्थितिबिना नै लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उपस्थितिबिनै बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले नयाँ बजेट प्रस्तुत गर्नुभएको हो ।
विपक्षी दलको कुर्सीमा राष्ट्रिय जनमोर्चाकी सांसद तारा जीसी बसेपछि प्रदेशसभाको बैठक अघि बढेको थियो । आर्थिक मामिला मन्त्री खड्काले चालू आर्थिक वर्ष २०७८–७९ को लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट सार्वजनिक गर्नुभएको छ ।
यो पूर्ववर्ती सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रस्तुत गरेको जत्तिकै बजेट हो । नयाँ बजेटमा चालु खर्चतर्फ १ अर्ब २९ करोड १६ लाख रुपैयाँ कटौती गरेको छ भने पूँजीगततर्फ १ अर्ब २९ करोड १६ लाख बढाइएको छ ।
नयाँ बजेटमा चालूतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार र पूँजीगततर्फ २२ करोड ४७ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रतिशतका आधारमा कूल बजेटको चालुतर्फ ३३।३१ प्रतिशत र पूजीगततर्फ ५४।८७ प्रतिशत हुन आउँछ । त्यसबाहेक ११।८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ ।