
चौंथो संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल) क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ । उपविजेता पोखराले १५ लाखमा चित्त बुझाएको छ ।
पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा भिम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
यस्तै दिलिप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए । मोहमद साहजदले ११ रन जोड्दा कप्तान सोमपाल कामी ४ रनमा अविजित रहदा सेकुग्गे प्रसन्न १ रनमा अविजित रहे । पोखराका किशोर महतोले ४ र नन्दन यादवले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १७ ओभर ५ बलमा १ सय ११ रन बनाउँदा अलआउट भयो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । रिचार्ड लेभीले २६ रन जोड्दा कप्तान विनोद भण्डारीले २२ रन बनाए ।
विपिन रावलले १७ रन बनाए । किशोर महतो १ रनमा अविजित रहे । विवेक यादव ४, रित गौतम २, सहन अर्चाचिगे २ बिक्रम सोब १ रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए । पोखरालाई सस्तैमा रोक्न चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए ।
यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २(२ विकेट लिए । सोमपाल कामी र सागर ढकालको नाममा १(१ विकेट रह्यो।