
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव घनश्याम भुसालले अगामी १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन् । विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा पत्रकारसँग आइतबार काठमाडौंमा भेटघाट गर्दै उपमहासचिव भुसालले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेवारी दिने संकेत गरेका हुन् ।
‘हाम्रो पार्टीको विधानमै स्पष्ट व्यवस्था छ । केन्द्रीय कमिटीको पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षमा उम्मेदवारी दिन पाउँछ,’ उनले भने ।हालै सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेर हदम्यादको व्याख्या गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष हुन सहज हुनेगरी विधान संशोधन गरेको छ ।
एमालेभित्र ‘१० भाइ’ भनेर चिनिने नेतामध्येका एक उपमहासचिव भुसाल पनि हुन् । वैचारिक नेताका रूपमा समेत चिनिने उपमहासचिव भुसाल महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गर्न आन्तरिक तयारीमा समेत जुटिसकेका छन् ।
एमालेको १०औं महाधिवेशन अगामी १०–१३ मंसिरमा बुटवलमा हुने निर्णय भइसकेको छ । हालै सम्पन्न प्रथम विधान महाधिवेशनले पार्टीको विधान संशोधनसहित पारित गर्दै महाधिवेशनको मितिसमेत टुंगो लगाइसकेको छ ।
राष्ट्रिय महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ । विधान महाधिवेशनबाट एमालेका पदाधिकारीसहित कमिटीहरूको संख्या र आकार निर्धारण भइरहेको छ । सम्पन्न विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ । पदाधिकारीमा १ अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र सात सचिवसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी हुने विधान पारित भएको छ ।
उता आइतबार आयोजित एक कार्यक्रमबीच महासचिव ईश्वर पोखरेलले अध्यक्ष ओली अध्यक्षमा उम्मेदवार भएको अवस्थाबाहेक आफू पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका पोखरेलले ओली उम्मेदवार नभएको अवस्थामा आफू उम्मेदवार हुने बताइसकेका छन् ।
आगामी महाधिवेशनमा आफूले महासचिव पदमा पुनः उम्मेदवारी नदिने उनले बताए । तेस्रोपटक महासचिव नहुने बताउँदै उनले भने, ‘तेस्रो चोटि महासचिव हुन्न । विधानले पनि दिँदैन । मेरा व्यक्तिगत चाहनाले पनि दिँदैन ।’
आउँदो महाधिवेशनबाट पनि पार्टी अध्यक्षमा ओलीलाई नै निरन्तरता पाउने संकेत उनले गरेका छन् । राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउन आगामी महाधिवेशनमा पनि ओलीलाई नै पार्टीको अध्यक्ष बनाउनुपर्ने संकेत उनले गरे । राजधानी दैनिकबाट