
कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार (११ गते)देखि लागू हुने गरी अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ। संक्रामक रोग ऐन २०२० को व्यवस्थाअनुसार मंगलबार विहान ६ बजेदेखि १८ गते विहान ६ बजेसम्म कुनै पनि व्यक्ति घर बाहिर निस्कन नमिल्ने आदेश दिएको छ।
उच्चस्तरीय समितिको बैठको निर्णय गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले औषधिउपचार र अत्यावश्यकबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने निर्णय गरिएको जानकारी दिए।
खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेक अरु सवारी साधन पनि चलाउने नपाइने निर्णय गरेको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।
अत्यावश्यक आवश्यक कर्मचारी उपस्थित हुनेगरी सम्बन्धी कार्यलय प्रमुखले बिदा दिने जनाएको छ । उद्योग कर्मचारीलाई समेत बिदा दिइने भएको छ ।
औषधि, खाद्यवस्तु, दूध र इन्धन जस्ता अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग कलकारखानामा काम गर्ने श्रमिक कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ।
त्यस्तै कोरोना रोकथाम उच्चस्तरीय समितिको आज बसेको बैठकले चैत ११ गते (मंगलबार) देखि एक हप्ताका लागि उडान बन्द गर्ने निर्णय गरेको छ।
यो निर्णयले भोलिका लागि बुकिङ भएका टिकट रद्द हुनेछन्।
आजै एक जना थप कोरोना संक्रमित भेटिएपछि सरकारले आन्तरिक उडान पनि बन्द गर्ने निर्णय गरेको हो नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल जानकारी दिए।

