
सिन्धु विकास बैंक लिमिटेडको दोलालघाट शाखाका शाखा प्रमुख पक्राउ परेका छन् । बैंकको एक करोड ७९ लाख ९० हजार ८५५ रुपैयाँ हिनामिना गरेको आरोपमा शाखा प्रमुख सुमन खरेललाई प्रहरीले पक्राउ गरेको हो ।
काभ्रेको भुम्लु गाउँपालिका-८ का ३१ वर्षीय खरेललाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले सोमबार पक्राउ गरेको हो । दोलालघाट शाखाले दैनिक रुपमा संकलन हुने कारोबारबाट जम्मा भएको रकमलाई एनसीसी बैंक सिन्धुपाल्चोकको बाह्रबिसे शाखामा रहेको सिन्धु विकास बैंकको खातामा जम्मा गर्दै आएको थियो । यसरी जम्मा गरिएकोमध्ये एक करोड ७९ लाख ९० हजार ८५५ रुपैयाँ खरेलले हिनामिना गरेको आरोप लागेको छ।
पक्राउ परेका खरेललाई उच्च अदालत पाटनबाट बैंकिङ कसुरसम्बन्धी मुद्दामा सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिनु भयाे ।