
अमेरिकामा कोरोना भाइरस संक्रमणको इपिसेन्टरका रुपमा रहेको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कुओमोले अत्यावश्यक चिकित्सा तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन अपिल गरेका छन् ।
राज्यमा कोरोना भाइरसको संक्रमण ‘बुलेट ट्रेन’ को गति भन्दा तीव्र रफ्तारमा फैलिरहेको भन्दै उनले चेतावनी पनि दिएका छन् । पत्रकार सम्मेलनमा भगर्नर कुओमोले भनेका छन्, ‘संक्रमण दर हामीले सोचे भन्दा अधिक र हामीले सोचे भन्दा चाँडो छ ।’
कोभिड–१९ का कारण उत्पन्न संकटसँग जुध्नका लागि आवश्यक पर्ने जीवनरक्षक सामग्री तथा सहयोग केन्द्र सरकारले पर्याप्त मात्रामा प्रदान नगरेको उनले बताएका छन् । गत हप्ता राष्ट्रपति ट्रम्प प्रति नरम स्वर अपनाउँदै कुओमोले संघीय सरकारलाई न्यु योर्क शहरमा ४०० भेन्टिलेटर पठाएकोमा कटु व्यङ्ग गरे ।
“तपाईले ४०० भेन्टिलेटर पठाएर ढाड्मा धाप पाउन चाहानुहुन्छ, कुओमोले भने। “हामी ४०० भेन्टिलेटरहरूले के गर्ने जब हामीलाई ३०,००० भेन्टिलेटरहरू चाहिएको छ ? तपाईं समस्याको परिमाण ख्याल गर्दै हुनुहुन्न ।” “संक्रमणको वृद्धि दर हरेक तीन दिनमा दोब्बर हुँदैछ,” कुओमोले भने।
अमेरिकाको न्यूर्योकमा अहिलेसम्म संक्रमितको संख्या २५ हजार भन्दा बढी रहेको छ र कम्तिमा २१० जनाको मृत्यु भइरसकेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार कोरोना भाइरसको विश्वव्यापी महामारीको नयाँ इपिसेन्टर अमेरिका बन्ने सम्भावना रहेको भन्दै चेतावनी दिएको थियो । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका व्यवसायहरु आउँदो महिना अर्थात अप्रिलदेखि पुनः सुचारु हुने अपेक्षा रहेको बताएका थिए ।
डेमोक्र्याट गभर्नर कुओमोले पत्रकार सम्मेलनमा भने, ‘हामीलाई अहिलेको अवस्थामा सहयोग चाहिएको छ र संघीय सरकारको सहयोग अपरिहार्य छ ।’ तत्काल सहयोग पाउन नसके कोरोना भाइरसको महामारी देशका अरु राज्यमा पनि न्यूर्योकमा जस्तै गरी फैलिने चेतावती उनले दिएका छन् ।