
नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशनका लागि सहभागी हुने प्रतिनिधिको सङ्ख्या १ हजार ९ सय ९९ बनाउने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बसेको केन्द्रिय कमिटी बैठकमा यसअघि स्थायी कमिटीले १ हजार ५ सय ३६ प्रतिनिधि सङ्ख्या प्रस्ताव गरेकोमा बैठकले ४ सय प्रतिनिधि थप्दै १ हजार ९ सय ९९ बनाएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले कात्तिक २७ गते एकै दिन महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने समेत निर्णय गरेको छ ।
केन्द्रिय कमिटी बैठकले १०औँ महाधिवेशनका लागि चयन गरेको २१ सदस्यीय मूल व्यवस्थापन कमिटीमा २ जना थप गरी २३ जना बनाउने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै पार्टीभित्र नीति र विचारमा एकता भएको र भर्खरै सकिएको वडा र पालिका अधिवेशनमा देखिएको उत्साह, एकता, समझदारीलाई महाधिवेशनमा पनि कायम गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको प्रवक्ता ज्ञवलीले बताउनुभयो ।
एमाले केन्द्रिय कमिटीको अर्को बैठक मङ्सिर ९ गते चितवनको सौराहामा बस्ने प्रवक्ता ज्ञवलीले जानकारी दिनुभयो ।
एमालेको राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुदैछ ।