
प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई आज बिहीबार बिहान स्वदेश फर्कनुभएको छ ।
प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन यही कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वल्ड लिडर समिटलाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो ।